काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई जेनजीका २३ समूहले प्रधानमन्त्रीबाट फिर्ता बोलाउन राष्ट्रपतिसमक्ष माग गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएर जेनजीका २३ समूहले प्रधानमन्त्रीबाट कार्कीलाई हटाउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को विद्रोहको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, यस विद्रोहमा भएको नरसंहारमा सलग्नमाथि कारबाही, जेनजी विद्रोहका घाइतेहरूको उपचार तथा जेनजी विद्रोहका सहिद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको माग रहेकोमा प्रधानमन्त्री कार्कीले कुनै पनि पूरा गराउन नसकेको आरोप लगाएका छन् ।












