काठमाडौँ । निर्वाचन आयोगले नयाँ आठ लाख ३७ हजार ९४ जना मतदाता थपिएको जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा नयाँ आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

आयोगको वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष, एक लाख ५१ हजार ९८० जना महिला तथा ४४ जना अन्य मतदाताले नामावली दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट चार लाख ९२ हजार १८० जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये दुई लाख ८० हजार ३६५ पुरुष, दुई लाख ११ हजार ७९८ महिला र १७ अन्य छन् ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रविधिको उपयोगले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज र सरल बनाएको बताए । आयोगको पोर्टलबाट करिब ५५ दिनमा दर्ता भएको सङ्ख्याभन्दा करिब एक लाख ५० हजारभन्दा बढी नागरिकले पञ्जीकरण विभागबाट सुरु भएको एक सातामै नामावली दर्ता गराएका छन् ।

आयोगको कात्तिक १८ गतेसम्म अद्यावधिक विवरण अनुसार मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० जना रहेकोमा मङ्सिर ५ गतेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मतदाताको सङ्ख्या एक करोड ९० लाख पाँच हजार ३२४ पुगेका छन् । अन्यतर्फ यसअघि १८७ मतदाता रहेकोमा सो सङ्ख्या २४८ पुगेको छ । आयोगले मङ्सिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन आग्रह गरेको छ ।