बारा । हिजो जेनजी समूहले नेकपा एमालेका नेता महेश बस्नेतलगायतलाई कार्यक्रममा सहभागी हुन अवरोध गर्न खोजेपछि उत्पन्न विवादका कारण बारोको सिमरा क्षेत्र आज पनि अशान्त छ ।
जेनजी समूहले आफ्ना मान्छेमाथि कुटपिट गर्नेहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै आज पनि सो क्षेत्रमा प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीमाथि जेनजी समूहले ढुंगामुडा गर्नुका साथै सडक अबरुद्ध समेत गरे । प्रहरीले सो स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप समेत भएको छ । झडपमा केही प्रहरी र जेनजी समूह पक्षमा घाइते भएको बताइएको छ ।
सिमरामा जेनजी प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै सड्कमा प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले भने जेनजी समूहमाथि कुटपिट गरेको भन्दै दुई वडाध्यक्षलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन् । स्थिति तनामग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय बाराले अहिले ८ बजेसम्मका लागि कर्र्फ आदेश जारी गरेको छ ।
शान्ति सुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाबारे ध्यानाकर्षण भएको भन्दै सरकार र सरोकारवालाहरूलाई निर्देशन दिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई भनिएको छ ।











