काठमाडौं । कात्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिवारदेखि शुरू भएको हो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ । दोस्रो दिन सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

कात्तिक शुक्ल षष्ठीका दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ । आज रातभर जागा बसी भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।