काठमाडौँ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह समेत तानिएका छन् ।

विभागले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र जयवीर तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबारको सम्बन्धमा विवरण संकलन गरी पेस गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखिसकेको छ । त्यस्तै जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा बिहीबार पत्राचार गरिएको छ ।

विभागको पत्रबमोजिम विवरण संकलन भइरहेको बताइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि विवरण संकलन गरी पठाउन ७७ वटै जिल्लाका मालपोत कार्यालयलाई निर्देशन दिइएको छ ।