काठमाडौं । तिहारको पहिलो दिन आज काग तिहार । यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो ।
हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतवारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिएका छन् ।
भोलि दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको छ । गाईगोरु एवम् गोवर्द्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ ।











