इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ सहिद गेट नजिकै रहेको होटेल सुपरलजमा जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त होटेलको कोठा नं. १०३ मा लाखौ रकम बाजिमा राखेर जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई आज विहीबार दिउँसो १ बजेतिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही ६ बस्ने ४८ वर्षका सुरेन्द्र हमाल, वडा नं. ९ का ४५ वर्षका गुम बहादुर चलाउने, ५० वर्षका विरबहादुर बस्याल, वडा नं. १४ का ५० वर्षका विष्णु गुप्ता, वडा नं. १५ का ३९ वर्षका खिमबहादुर डाँगी, ३१ वर्षका पंकज न्यौपाने, वडा नं. १३ का ३३ वर्षका सूर्य बोहरा, ३१ वर्षका आकाश लम्साल, वडा नंं. ११ का २७ वर्षका गोबिन्द डाँगी, वडा नं. १७ का ३१ वर्षका रजनिस चौधरी र वडा नं. ३ का २० वर्षका सुरज पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जुवा खेली रहेको वेला उनीहरुबाट एक लाख ८८ हजार ८२० रुपैयाँ नगद र ११ गड्डी तास पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय दाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सुपरलज जिल्लाको एउटा प्रतिष्ठित होटेलको रुपमा परिचित छ ।