दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका उपकुलपति डा. विकास लामिछानेले घरायसी जिम्मेवारी र स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । लामिछानेले बुधबार दिउँसो प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएको बताइएको छ ।
उनले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन् । लामिछानेको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदै थियो । तर कार्यकाल सकिनुअघि नै उनले स्वेच्छाले पदबाट राजीनामा दिएका हुन्।
राजीनामापछि प्रतिष्ठानमा नयाँ उपकुलपति चयन प्रक्रियाबारे छलफल सुरु भएको बताइएको छ । सरकारको स्वीकृतिपछि छिट्टै नयाँ उपकुलपति नियुक्त हुने अपेक्षा गरिएको छ ।











