काठमाडौँ । प्रतिनिधिसभा विघटन र सरकार गठनका विषयमा सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् । मङ्गलबार पेस भएका १० वटा रिट निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो । दर्ता रिटको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल निवेदक रहेका छन् । दुई रिटमा भने एकभन्दा बढी निवेदक छन् ।
जेनजी आन्दोलनपछि एक महिनाभन्दा लामो समयसम्म बन्दीप्रत्यक्षीकरणका रिट मात्र सुनुवाइ भएकोमा पूर्ण बैठकको निर्णय अनुसार मङ्गलबारबाट सबै प्रकारका रिट र निवेदनहरू दर्ता सुरु भएको थियो ।
रिटमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनसमेत असंवैधानिक भएकाले बदरको माग गरिएको छ । असंवैधानिक कार्यलाई अनुमोदन गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलमाथि महाभियोगको प्रक्रिया अघि बढाउन सङ्घीय संसद्का नाममा आदेशको माग पनि रिटमा गरिएको छ ।
त्यस्तै भदौ २३ को घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न र भदौ २४ गतेको सर्वोच्च अदालत, संसद् भवन र सिंहदरबार तोडफोडमा संलग्नलाई कारबाहीको आदेशका लागि माग गरिएको छ ।











