सन्तोषकुमार गुप्ता
देउखुरी १८ साउन
लालमटिया गाविसले आर्थिक बर्ष २०७२÷०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ । गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता विकासका लागि खर्च गर्नु पर्नेमा भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरेको पाईएको हो । लालमटिया गाविसले सोमबार गाविस भवन मसुरियामा आयोजना गरेको आर्थिक बर्ष २०७२÷०७३ को बार्षिक आम्दानी खर्च सार्वजनिक तथा समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा यस्तो पाइएको हो ।
जसमध्ये सबै भन्दा बढी बालबालिका तर्फको बजेट भौतिक पुर्वधार विकास निर्माणमा खर्च गरिएको छ । त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिक र महिला तर्फको बजेट विकास निर्माणमा खर्च भएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
जसमा बालबालिका तर्फ विनियोजन गरिएको ६ लाख ७७ हजार रकम मध्ये ३ लाख २७ हजार रकम विकास निर्माणमा खर्च गरिएको छ भने ३ लाख ५० हजार रकम मात्र बालबालिकाको क्षमता विकास तथा आयआर्जनमा खर्च भएको गाविसले जनाएको छ । जसमा विद्यालयको भौतिक पूर्वधारण निर्माण तथा मर्मतका लागि भन्दै ३ लाख २७ हजार रकम खर्च गरेको गाविसले जनाएको छ, भने ३ लाख ५० हजार बराबरको बालबालिका लक्षित क्षमता विकासमा खर्चको गरेको छ ।
लालमटिया गाविस बालमैत्री गाविस उन्मुख भए भए पनि यस गाविसमा अहिले सम्म एक दर्जन बढी बालबालिका बालश्रम शोषण शिकार भएका छन्, बाल बिबाह बढ्दो क्रममा रहेको अवस्थामा गाविसले बालबालिकाको बजेट बालमैत्री गाविस बनाउन तर्फ खर्च गर्नुको साटो सडक निर्माण देखि विद्यालयको भवन निर्माण मर्मतमा खर्च गदै आएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिकको कुल ६ लाख ७७ हजार रकम मध्ये ३ लाख ८७ हजार रकम भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरिएको छ ।











