काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ ।
कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी महाशाखाले आग्रह गरेको छ ।
दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर अधिकांश बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।











