काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसैगरी कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ जना परीक्षार्थी सहभागी थिए ।
प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।
परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।
