केशरमान बुढाथोकी

दाङ, १ असार । साविक राप्ती अञ्चलका मगर बहुल जिल्ला रुकुम, रोल्पा, प्युठान र दाङका मगर बस्तीहरूमा आज भुम्या पर्वको रौनक छाएको छ। अघिल्लो साँझदेखि सुरु भएको भुम्याको तयारी आज बिहानैदेखि उल्लासमा परिणत भएको छ। भूमिलाई देवता मानेर पूजा गर्ने यो पर्व मगर समुदायको मौलिक चाड हो, जसमा जमिनलाई सम्मान, वर्षाको कामना र रोगव्याधिबाट टाढा रहने आशय व्यक्त गरिन्छ।

असार १ का दिन गाउँगाउँमा धुमधामले पूजा गरिएको छ। झ्याली, दमाहा र बाँसुरीको धुनसँगै परम्परागत मगर नृत्यमा रमाउँदै गाउँलेहरू हातमा खरानी, फूल र चामल बोकेर भूमे देवताको पूजा गर्न नजिकको खोला, डाँडो वा सिममा पुगेका छन्। बाजा गुञ्जिँदा नाचगान सुरु हुन्छ, अनि सुरु हुन्छ पर्वको वास्तविक उल्लास।

यो चाड कुनै धार्मिक ग्रन्थमा लेखिएको अनिवार्य कर्म होइन, तर सदियौं वर्षदेखि मगर समुदायमा मौखिक परम्पराले बाँचिरहेको विश्वासको चाड हो। “हामी यो पर्व भुमि तथा प्रकृतिको पुजा गरेर मनाउदै आएका छौं । वर्षायाममा कुनै पनि प्राकृतिक बिपत्ति न आओस भन्ने उद्देश्यले यो पूजा गर्दै  आएको मगर जानकार उदय जिएमले जानकारी दिए । उनि भन्छन- ‘यो पर्वले हामीलाई प्रकृतिसँग जोड्छ, र यो हाम्रो सामूहिकताको चिनो हो।”

केटाकेटीदेखि बुढापाकासम्म परम्परागत पोशाकमा सजिएर नाच्दै गाउँ वरिपरि घुमिरहेका छन्। कतै बाँसुरी बज्दैछ, कतै दमाहा। कुनै ठाउँमा बोका र कुखुरा बलि चढाइएका छन्, त कुनै ठाउँमा पुष्प, अन्न र पानीले पूजा सम्पन्न गरिएको छ। विधि फरक हुन सक्छ, तर उद्देश्य एउटै — भूमिलाई सम्झनु र आफ्नो मौलिकता जोगाउनु।

लुम्बिनी प्रदेश सरकारले रोल्पा, पूर्वी रुकुम र दाङका मगर समुदायलाई लक्षित गर्दै सार्वजनिक बिदा दिएको छ। यसले पर्वलाई अझ भव्य बनाएको छ। स्थानीय सरकार र सामाजिक संघसंस्थाहरूले समेत भुम्या पर्वलाई संस्कृतिक पर्वको रूपमा प्रवर्द्धन गर्न थालेका छन्।

भुम्या केवल चाड होइन, यो एक सांस्कृतिक अभियान पनि हो — आफ्नो पहिचान सम्झाउने, जरा खोज्ने, र नयाँ पुस्तालाई मौलिकताको पाठ सिकाउने माध्यम। आज पर्वको रंगमञ्चमा गाउँलेहरूको अनुहारमा देखिएको चमक यही चेतनाको उज्यालो हो।