इन्द्रेणी संवाददाता
दाङ, १७ साउन । एक वर्षको अवधिमा प्रहरीले जुवा अड्डाबाट राप्तीमा झण्डै नौ लाख बरामद गरेको जनाएको छ । अघिल्लो वर्षको साउन महिनादेखि गएको असार मसान्तसम्म राप्तीका दाङ, सल्यान र रुकुमबाट ८ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बरामद गरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख डिएसपी तुलबहादुर कार्कीले बताउनुभयो ।
जुवाको अड्डाबाट सबैभन्दा बढी ६ लाख १४ हजार ३ सय ९५ रुपैयाँ दाङमा प्रहरीले बरामद गरेको छ । त्यसैगरी रुकुममा एक लाख ६७ हजार १ सय ५० र सल्यानमा ९४ हजार एक सय ४५ रुपैयाँ बरामद भएको छ ।
रोल्पा र प्युठान प्रहरीको तथ्याङक अनुसार जुवा नखेल्ने जिल्लाको सूचिमा परेका छन् । त्यस्तै प्रहरीले जुवाखेलीरहेको समयमा छापामारेर दाङमा ६१ जना, सल्यानमा १६ र रुकुममा ७ जनालाई पक्राउ पश्चात कार्बाही गरेर छोडेको जनाएको छ ।।