काठमाडौ, १७ साउन
नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा साउन १९ गते निर्वाचन हुने भएको छ । सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गर्नुभएको हो ।
आज नै बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक बोलाउनुभएको छ । साथै निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी गठवन्धनबाट प्रचण्ड उम्मेदवार हुने पक्का छ । एमालेले भने उम्मेदवार छनौट गरेको छैन । जस अनुसार प्रधानमन्त्रीका लागि भोलि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।
साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । बुधबारको विहान ११ बजेको बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।।