काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक १६ दिनदेखि आन्दोलनमा छन् । समाधान खोज्नुपर्ने सरकार र शिक्षकको दूरी झन् टाढिँदै छ । जसका कारण ११ वैशाखदेखि सुरु हुने कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अनिश्चित बनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले तीन महिनाअघि नै परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको मिति नजिकिँदै गर्दा विद्यार्थी प्रवेशपत्रसमेत लिएर तयारीमा जुटिरहेका छन् । तर, परीक्षा बोर्डले दुई–तीन दिनको तयारीमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने बताएको छ भने विद्यालयका प्रधानाध्यापकहरूले माग पूरा नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि सडक छाड्न नसकिने जवाफ दिएका छन् ।
डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविकी प्रअ रिता तिवारीले तोकिएको समयमा कक्षा १२ को परीक्षा नहुने बताइन् । ‘सरकारले संसद्को बैठक १२ वैशाखलाई तोकेको छ, शिक्षकहरूले १२ गतेसम्म सडक छाड्ने अवस्था नै हुँदैन । तर, परीक्षा तालिका ११ वैशाखदेखि नै भएकाले रोकिने निश्चित छ,’ उनले भनिन्, ‘उपत्यकाबाहिरबाट अनेकौँ दुःख गरेर शिक्षकहरू आउनुभएको छ, अहिले नै सडकबाट हट्दा हाम्रो मुद्दा स्थापित हुँदैन, सरकारले विगतमा पनि झुलाएको हो ।’
बुटवलको मानवज्ञान माविका प्रअ दिनेश थापाले पनि तोकिएको मितिमा १२ को परीक्षा सञ्चालन गर्न नसकिने बताए । ‘शिक्षकहरूको संस्था शिक्षक महासंघले नै परीक्षा र नयाँ शैक्षिक सत्रका कार्यक्रम रोक्न भनेको छ, बुधबार सभामुखले पनि यत्तिका दिनदेखि सडकमा रहेका शिक्षकहरू निराश हुने कुरा गर्नुभयो,’ उनले भने, ‘हामीलाई प्रधानमन्त्री वा समामुख तहबाट प्रतिबद्धता चाहिएको हो, माग पूरा नगरी फर्किने कुरा हुँदैन ।’
बोर्डले अहिलेसम्म एक हजार ५९१ केन्द्र तोक्नेबाहेक अन्य तयारी गर्न सकेको छैन । जबकि निरीक्षक र केन्द्राध्यक्षलाई अभिमुखीकरणका लागि नै चार–पाँच दिन लाग्ने बोर्डले जनाएको छ नयाँ पत्रिकामा खबर छ। त्यस्तै, केन्द्राध्यक्ष र निरीक्षक तोक्न थप एक दिन तथा प्रश्नपत्र र उत्तरपुस्तिका पठाउन कम्तीमा दुई दिन लाग्छ । सबै केन्द्रमा परीक्षा गराउने मुख्य दायित्व रहने प्रधानाध्यापक विद्यालय बन्द गरेर आन्दोलनमा रहेकाले परीक्षा हुनेमा अन्योल छ ।
बोर्ड अध्यक्ष महाश्रम शर्मा विद्यालय र प्रअले जिम्मेवारी नलिएसम्म परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वार्ताको माध्यमबाट छिटो समाधान खोज्नुपर्ने बताउँछन् । ‘परीक्षामा केन्द्राध्यक्ष सम्बन्धित विद्यालयको प्रअ बस्नुपर्छ र उहाँले नै निरीक्षक तोक्ने हो, तर हालसम्म यो काम भएको छैन । दुई–तीन दिनको छोटो समयमा यी काम सकेर परीक्षा सञ्चालन गर्न कठिन हुन्छ,’ उनले भने, ‘परीक्षा रोक्नुहुँदैन भनेर हामीले यसअघि पनि अपिल गरेका थियौँ, बिहीबार पनि गरेका छौँ । परीक्षा रोकिँदा तयारी अवस्थामा बसेका बालबालिकामा मनोवैज्ञानिक असर पर्छ । त्यसैले वार्ताको माध्यमबाट समाधान खोजेर परीक्षा नरोक्न अनुरोध गर्छौँ ।’
नयाँ शिक्षा ऐन जारीलगायतका विभिन्न माग राख्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
