इन्द्रेणी संवाददाता
दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ खैरेनीकी चुमा रानालाई अहिले चैते धान रोप्न भ्याई नभ्याई छ । फागुनको अन्तिम तिर राखेको धानको ब्याड तयार भएपछि अहिले रानालाई कामको चाप बढेको छ । कामको चाप बढेपछि उनी छिमेकी र आफन्तलाई परिम समेत लगाएर समयमै काम सक्ने चटारोमा छिन् । ‘व्याडमा विउँ तयार भइसकेको छ, यतिवेलै पानी पनि परेको छ’, उनले भनिन्, ‘कामको चाप बढेको छ ।
उनी मात्रै होइनन् त्यस क्षेत्रका चैते धानको खेती गर्ने सबै किसानहरु धान रोप्न व्यस्त छन् । अघिल्ला वर्षजस्तै यस वर्ष पनि व्याडमा चैते धानको विउँ तयार भइरहेको र यसलाई समयमै रोप्न सके धानवाली राम्रो हुने किसानहरुको अपेक्षा छ । चैते धानका लागि सिँचाई सुविधा भएपनि यसवर्ष झन् यही सल पानी परेकाले किसानहरुलाई थप राहत भएको छ । ‘धान रोप्नका लागि सिँचाइको सुविधा त छ तर झन् पानी आएकाले धेरै राहत भएको छ’, रानाले थपिन् ।
राम्रो सिँचाई सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएपछि यहाँका किसानहरु चैते धानमा आकर्षित हँुदै आएका छन् । यहाँका किसानहरुले चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहँु खेती गर्दै आएका छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा बर्खे धान रोप्ने गरिन्छ । वर्षामा रोपेको धान कात्तिकमा काटेर फेरि गहुँ वा मसुरो लगाउने चलन छ ।
चैते धानको बिउँ आफैं उत्पादन गर्दै आएको भएपनि मलका लागि भने गाउँकै व्यापारीहरुको भर पर्नुपर्ने बाध्यता रहेको किसान शेरबहादुर बुढाथोकीको भनाइ छ । घोराही उपमहानगरपालिका १ सुकाखोला, बंगलाचुली गाउँपालिका ३ र ४ को गहतेरा, खैरेनी, समीघाट, मुलाबारी सँगै देउखुरीका केही स्थानमा चैते धान खेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार ५०० हेक्टरमा चैते धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क छ । परम्परागत रुपमा हुदै आएको चैते धान खेतीलाई थप प्रवद्र्धन गर्न सके यसको उत्पादकत्वमा बृद्धि हुने देखिन्छ ।
