दाङ । दाङको घोराही बजार नजिकैका बस्तीमा रहेका बंगुरका खोरले बस्ती नै दुर्गन्धित बनेको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुर टोलका केही घरमा पालिएको बंगुरले टोलको बस्तीनै दुर्गन्धित बनाउदै आएको छ ।

व्यावसायिक रुपमा नभएपनि केही स्थानीयले घरको छेउमा सानो खोर बनाएर बंगुरपालन गर्दै आएका छन् । घर छेउमै रहेको बंगुरको खोरबाट दुर्गन्ध फैलिदा बस्तीनै दुर्गन्धित बनेको स्थानीय तिलबहादुर बुढाथोकीले गुनासो छ । ‘रोल्पाको थबाङमा समेत बंगुरपालनलाई व्यवस्थित गरिएको छ’ वंगुरपालन तर्फ देखाउदै बुढाथोकीले भने ‘तर घोराहीको मुटु मानिने १५ नम्बर वडाको यस्तो हालत छ ।’

स्थानीय सरकारले ती बंगुरपालन गर्दै आएका किसानलाई व्यवस्थित गर्न नसक्नु लाजमर्दो भएको स्थानीयको भनाई छ । उक्त टोलमा करिब ४ वटा बंगुरको खोर रहेका छन् । यस्तै १५ नम्बर वडाकै अन्य टोलहरुमा कुखुरापालन भइरहेका छन् ।

यस्तै कुकुर पाल्नेहरुले विहान खाली ठाउँमा दिसापिसाब गराउने जस्ता गैरजिम्मेवार काम गर्दै आएको पनि स्थानीयको गुनासो छ । घोराहीको रतनपुर बाक्लो बस्ती भएको क्षेत्र हो । स्थानीय सरकारले पनि बेला बेला सरसफाई सम्बन्धी अन्तक्र्रिया गर्दै आएको भएपनि यसतर्फ ध्यान जान नसकेको देखिन्छ ।