दाङ । बजेट नहुँदा घोराही उपमहानगरपालिका–८ स्थित मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको काम रोकिएको छ । दुई वर्षअघि निर्माण सुरु भएको सहरी स्वास्थ्य केन्द्रको भवन गत वर्षदेखि ठप्प रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको बजेटमा स्वास्थ्य केन्द्रको भवन निर्माणको काम सुरु भए पनि त्यसपछि बजेटले निरन्तरता नपाउँदा भवन निर्माणको काम रोकिएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर डिसीले बताए ।

प्रदेश सरकारको अनुदान कार्यक्रम अन्तर्गत परेको १५ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको हो ।
१५ लाख बजेटबाट चारकोठे भवनको फाउन्डेसनसँगै पिल्लर उठाउने मात्र काम गरिएको छ । योजना निर्माणका लागि करिब ७०-८० लाख लाग्ने अनुमान गरिएको छ ।