इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको आधारभूत तह (कक्षा ८) को नतिजा चिन्ताजनक देखिएको छ । नगर शिक्षा समितिले यस वर्ष लिएको (कक्षा ८) को नतिजा सोमबार सार्वजनिक भएको छ । केही सामुदायिक विद्यालयको नतिजा शून्य प्रतिशत पनि देखिएको छ । सार्वजनिक नतिजामा सामुदायिक विद्यालयतर्फ जम्मा दुई हजार १८१ विद्यार्थी सहभागी भएकोमा ५३४ जना मात्रै उत्तीर्ण भएका छन् । यसलाई नगर शिक्षा समितिले श्रेणीकृत भनेको छ ।
त्यस्तै एक हजार ६४७ जना अनुत्तीर्ण भएका छन् । यसलाई नगर शिक्षा समितिले श्रेणीविहिन भनेको छ । समग्रमा उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट २४ दशमलव ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाको नतिजालाई विश्लेषण गर्ने हो भने सामुदायिक विद्यालयमा सरकारले वर्षेनी करोडौं बजेट खर्च गर्ने तर नतिजा कमजोर देखिदा राज्यको लगानी बालुवामा पानी हालेजस्तै भएको छ ।

केही सामुदायिक विद्यालयको नतिजा शून्य प्रतिशत
यसैगरी संस्थागत विद्यालयमा दुई हजार ३४५ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये एक हजार ९१४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयबाट पनि ४३१ जना विद्यार्थी अनुउत्तीर्ण भएका छन् । उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयबाट चार हजार ५२६ जना सहभागी भएकोमा दुई हजार ४४८ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दुई हजार ७७ जना विद्यार्थी फेल भएका छन् । घोराही उपमहानगरपालिका भित्रको समग्र नतिजा ५४.०९ प्रतिशत रहेको छ ।












