इन्द्रेणी संवाददाता
दाङ । बंगलाचुली गाउँपालिकामा ९ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन्। गत माघ २४ गते आफन्तको घरमा गएकी बालिकालाई १८ वर्षीय केशव खत्रीले बलात्कार गरेको घटना अढाई महिनापछि सार्वजनिक भएको हो।

बुवा भारतमा रहेका बेला आफन्तले नै बलात्कार गरेको खुलासा चैत २ गते घोराहीको बुद्ध हस्पिटलमा चेकजाँचका क्रममा भएको थियो। चिकित्सकले बालिकाको योनांगमा घाउ र खाटा देखेपछि सोधपुछ गर्दा घटना खुलेको हो।

बालिकाका बुवाले वडा कार्यालयमा उजुरी दिए पनि वडाध्यक्ष डोमबहादुर केसीले चैत १३ गते पीडित र पीडकका बावुबीच मिलापत्र गराएका छन्। मिलापत्रमा आगामी दिनमा गल्ती नदोहोर्‍याउने उल्लेख छ। तर, प्रहरीमा घटना नपुगेको र वडाध्यक्षले मिलापत्र गराएको भन्दै स्थानीयमा असन्तुष्टि बढेको छ।

जिप्रका दाङका डीएसपी चक्रबहादुर शाहले घटनाबारे सूचना नआएको तर गम्भीर अनुसन्धान गर्ने बताए। यो समाचार नेपाल प्रेसमा छ ।