इन्द्रेणी संवादता
काठमाडौं , २८ चैत २०८१ – राजसंस्था पुनःस्थापनाको माग राख्दै शुक्रबार काठमाडौँको तीनकुनेमा भएको पूर्वराजा पक्षधरहरुको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेको छ। शिक्षण अस्पतालमा घाइतेहरुलाई भेटेर फर्कने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै मिश्र र राणालाई सोधपुछका लागि पक्राउ गरिएको छ। प्रहरीको विश्लेषणमा यो प्रदर्शन हिंसात्मक हुनुमा दुर्गा प्रसाईं, धवलशमशेर राणा र रविन्द्र मिश्रको मुख्य संलग्नता रहेको ठहर गरिएको छ। पक्राउ परेका नेताहरुलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ।
प्रहरीले जनाएअनुसार आन्दोलनका क्रममा दुर्गा प्रसाईंले स्वयं गाडी चलाएर प्रहरीमाथि कुल्चिँदै नयाँ बानेश्वरतर्फ जाने योजना बनाएका थिए। त्यस्तै, राणा र मिश्रले प्रदर्शनकारीहरुलाई प्रहरीको घेरा तोड्न उक्साएको प्रहरीको दाबी छ। यसैको परिणामस्वरुप भीड अनियन्त्रित भई तोडफोड, आगजनी र लुटपाटमा उत्रिएको प्रहरीले बताएको छ।











