काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा माओवादीका सांसदले सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको बताएका छन् । बिहीबार महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।
“वषौँसम्म त्यही निकायमा कामा गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भने, “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”











