आगलागी भएको प्लाई उद्योग दाङ, ११ चैतः आगलागीबाट क्षती भएको दाङको घोराही उपमहानगरपालिका–९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको साङ्ग्रिला प्लाई उद्योग । उद्योगमा बिहान १ बजेबाट विद्युत सर्ट भएर भीषण आगलागी भएको स्थानीयले बताएका छन् । दाङसहित छिमेकी जिल्ला बाँके, कपिलवस्तु, बर्दियाबाटसमेत दमकल ल्याएर आगो निभाउन प्रयास गरेपनि अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन । तस्बिरः कुलदीप न्यौपाने÷रासस

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

उद्योगमा आगलागी भएको करिब ३२ घण्टा बितिसक्दा पनि आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । आगो करिब ९० प्रतिशत नियन्त्रणमा रहे पनि पूर्णरुपमा अझै आइसकेको छैन ।

आगो नियन्त्रणका लागि सोमबार बिहान २ बजेदेखि निरन्तर प्रयास जारी रहेपनि पूर्णरुपमा अझै आगो नियन्त्रण नआएको छैन । उनले आगो निभाउँदै जलेका सामग्री पन्छाउदै अगाडि बढ्नुपर्ने भएका कारण आगो पूर्णरुपमा नियन्त्रणमा आउन समय लागेको र रातभर पनि आगो निभाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । आगलागीबाट उद्योगका सबै सामग्री नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसँगै वनको डढेलो नियन्त्रण टोली गरेर करिब दुई सय जनाको टोली आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । उद्योगमा लागेको आगो नियन्त्रणका लागि पानी बोक्न दाङसँगै कपिलवस्तु, बाँके र बर्दिया जिल्लाबाट आएका आठ वटा दमकलसँगै ट्याक्टर प्रयोग गरिइरहेको छ ।

उवासंघद्धारा दुःख व्यक्त

यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगमा आगो लागेर भएको क्षति र घटनाप्रति दुःख व्यक्त गरेको छ । सोमबार संघका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन् । साथै विज्ञप्तिमा यति लामो समयसम्म पनि आगो नियन्त्रणमा नआउनु राज्य संयन्त्रको विपद व्यवस्थापनप्रतिको लाचार पन भएको बताइएको छ । यस्तो लाचार अवस्थाले अझै उद्योगी व्यवसायीहरुलाई दुखित तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।