दाङ । कुनै राजनीतिक दलका मुख्य नेताहरु हुन् या मन्त्रीहरु, दाङमा आएपछि उनीहरुको मुख्य विषय नै हुन्छ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल । उनीहरुले सकेसम्म आफ्नो भाषणको पहिलो उचारण नै यही विमानस्थलको विकास, स्तरबृद्धि, जहाज नियमितलगायतका हुन्छन् । तर अहिले टरिगाउँ विमानस्थलमा जहाज आउन नै छोडेको छ ।
पछिल्ला दुई महिनादेखि उडान रोकिएको छ । नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । तर त्यो पनि दुई महिनादेखि बन्द छ । निगमका साना दुई वटा जहाज बिग्रिएका कारण उडान बन्द भएको नेपाल एयरलाइन्स तुलसीपुरका प्रतिनिधि बलबहादुर सुनारले बताए । आगामी १५ दिनभित्रै जहाज मर्मत भई पुनः नियमित उडान सञ्चालनमा आउने समेत उनको भनाइ छ ।
टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो ।
धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको उक्त विमानस्थलको अझ ठूला जहाजका लागि एक हजार २५० देखि एक हजार ५५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डिपिआरमा उल्लेख छ ।
धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाएको छ । धावनमार्ग विस्तारका लागि आवश्यक पाँच अर्ब बजेटमध्ये आर्थिक वर्ष २०८१/८२ मा एक करोड विनियोजन गरिएको र यसै वर्ष थप आवश्यक ९९ करोड बजेट माग गरिएको छ ।
