दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज शनिवार विभागीय टीम नेपाल पुलिस क्लब र मधेश प्रदेश टीम भिड्दैछन् । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेश टीम बीच बिहान ९ बजेपछि खेल शुरु हुदैछ ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा पुलिस क्लब अपराजित टीम हो भने मधेश प्रदेश प्रतियोगितामा प्रभावशाली खेल प्रस्तुत गर्दै आएको टीम भएकाले आजको खेल निकै प्रतिष्पर्धात्मक तथा रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आजको खेलमा नेपालको राष्ट्रिय टोलीका अधिकांश सदस्य सम्मिलित दुई टीमबाट मैदानमा उत्रिने हुँदा प्रतिष्पर्धा भव्य हुने देखिएको छ । नेपाल पुलिस क्लबको कप्तानी कप्तान दिपेन्द्र सिंह ऐरीले र मधेश प्रदेश टीमको कप्तानी अनिलकुमार साहले सम्हालेका छन् ।

प्रतियोगिताको १७ औँ खेल अन्तरगत देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टीम जीतको खोजीमा हुनेछन् । पुलिस क्लब लगातार ३ खेलमा जीत निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । मधेश प्रदेशको टीम पनि बलियो मानिएको पुलिस क्लबलाई हराउँदै अंक तालिकामा सुधार गर्दै माथि उक्लिन चाहन्छ । मधेश प्रदेश अंकको तालिकाको पाँचौँ स्थानमा छ ।

विभागीय टीम पुलिस क्लबले हिजो मात्रै डर्बी एपीएफलाई २ विकेटले हराएको थियो भने यसअघि कोशी प्रदेशलाई १५४ रन र लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै पिएम कपको दावेदारी देखाईरहेको छ ।

यसैगरी, मधेश प्रदेशको टीमले खेलेको दुई खेलमा एकमा जीत र एकमा हार व्यहोरेको छ । जसमा कोशी प्रदेशलाई १६५ रनले हराएको थियो भने एपीएफसँग २ विकेटले पराजित भएको थियो । प्रतियोगिताको तेस्रो खेल खेलीरहेको मधेशले आजको खेलमा एपीएफसँगको खेलमा गरेको कमजोरी सुधार गर्दै खेल्ने रणनीति बनाएको छ । पुलिस क्लब भने लगातारको जीतलाई निरन्तरता दिने रणनीतिका साथ मैदानमा उत्रिँदैछ ।

खेललाई मध्य नजर गर्दै लमहीमा भईरहेको पिएम कपको व्यवस्थापन हेरिरहेकोे दाङ जिल्ला क्रिकेट संघले दर्शकहरुक लागि भिआईपी टिकट बाहेक अरु टिकट निशुल्क गरेको छ ।