केशरमान बुढाथोकी

नेपाल विविधताले भरिएको देश हो, जहाँ हरेक चाडपर्वले सांस्कृतिक तथा सामाजिक एकताको सन्देश दिन्छ। यही सन्देश बोकेको पर्व हो— होली। पहाडी भेगमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म र तराई-मधेशमा पूर्णिमाको भोलिपल्ट धुमधामका साथ मनाइने यो पर्व हर्ष, उमंग र भाइचाराको पर्व हो। विशेष गरी नेपालको तराई क्षेत्रमा होलीको रौनक छुट्टै हुन्छ। तर, पछिल्ला वर्षहरूमा होलीको परम्परागत सौन्दर्यता कतिपय विकृतिहरूले धमिल्याउने प्रयास गरेको देखिन्छ। त्यसैले यसलाई संस्कृतिको रूपमा मर्यादित रूपमा मनाउन जरुरी छ।

होली पर्व हिन्दू परम्परामा निकै पुरानो मानिन्छ। यसको प्रमुख ऐतिहासिक आधार प्रह्लाद, हिरण्यकश्यपु र होलिकासँग जोडिएको छ। पौराणिक कथाअनुसार, हिरण्यकश्यपुले आफ्नो भक्त पुत्र प्रह्लादलाई मार्न विभिन्न षड्यन्त्र गरे। अन्ततः, होलिकाले आगोमा लिएर प्रह्लादलाई जलाउने प्रयास गरिन्, तर भगवान विष्णुको कृपाले प्रह्लाद बाँच्न सफल भए र होलिका आफैं जलेर नष्ट भइन्। यही घटनालाई असत्यमाथि सत्यको विजयका रूपमा स्मरण गर्दै होली मनाइन्छ।

त्यस्तै, होलीलाई भगवान कृष्ण र राधाको प्रेमसँग पनि जोडिन्छ। कृष्णले राधासँग खेल्ने रंगहरूको रमाइलोले यो पर्वलाई अझ रमणीय बनाएको मानिन्छ। यही कारणले गर्दा होली रंगहरूको पर्वका रूपमा विकसित भएको छ।

नेपालको तराई-मधेशमा होली निकै भव्य रूपमा मनाइन्छ। विभिन्न समुदायका मानिसहरू एकअर्कासँग मिलेर रंग-अबिर लगाउने, नाचगान गर्ने र विशेष परिकारहरू बाँड्ने चलन छ। तराईको होली केवल हिन्दू धर्मालम्बीहरूमा मात्र सीमित छैन, यसमा अन्य समुदायका मानिसहरू पनि उत्तिकै सहभागी हुन्छन्। यसले सामाजिक सद्भाव र सहिष्णुताको सन्देश दिन्छ।

होली प्रेम, सद्भाव र मिलनको पर्व भए पनि पछिल्लो समय यसमा केही विकृतिहरू थपिँदै गएका छन्। जबरजस्ती रंग दल्ने, फोहोर पानी छ्याप्ने, मदिरा सेवन गरेर अशोभनीय क्रियाकलाप गर्ने जस्ता गतिविधिहरूले पर्वको सौन्दर्यलाई धमिल्याउने काम गरेका छन्। विशेष गरी महिलाहरूका लागि केही ठाउँहरूमा होली असहज बन्न थालेको छ।

त्यसैले, होलीलाई संस्कृतिको रूपमा जोगाउन जिम्मेवार नागरिकको भूमिका अत्यन्त जरुरी छ। जबरजस्ती होइन, सहमतिका आधारमा रंग खेल्नुपर्छ। स्वच्छता र मर्यादालाई ध्यानमा राख्दै, मदिरा जस्ता कुराहरूको दुरुपयोग नगरी संस्कारयुक्त ढंगले पर्व मनाउनु पर्छ ।

होली  केवल व्यक्तिगत मनोरञ्जनका लागि मात्र सीमित छैन, यसले समाजलाई भाइचारा र प्रेमको सन्देश दिन्छ। विभिन्न जातजाति, धर्म, भाषा र सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूलाई एउटै रंगमा रंगाएर समानताको भाव सिर्जना गर्ने अवसर होलीले दिन्छ। यो पर्वले पुराना रिसराग, वैमनस्यता हटाएर नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्छ। त्यसैले, होली केवल रंगहरूको पर्व मात्र नभएर सामाजिक सद्भावको सशक्त प्रतीक पनि हो।

नेपालका प्रमुख चाडपर्वहरूमध्ये एक हो, जसले सामाजिक एकता, आपसी मेलमिलाप र हर्षोल्लासको सन्देश दिन्छ। यस पर्वलाई हामीले सही ढंगले मनायौं भने यसले हाम्रो समाजमा प्रेम, मित्रता र सौहार्दता बढाउन मद्दत गर्छ। जबरजस्ती र विकृतिलाई त्यागौं, रंग र सद्भावलाई अंगालौं। यस शुभ अवसरमा, नेपालभरिका सबै दाजुभाइ-दिदीबहिनीलाई सामाजिक सद्भाव, मित्रता र सौहार्दताको कामना गर्दै फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!