इन्द्रेणी संवाददाता

महेन्द्र बहुमुखी क्याम्पस, दाङका नव नियुक्त क्याम्पस प्रमुख डा. नारायण पन्थी शैक्षिक क्षेत्रमा एक स्थापित नाम हो। २०३० साल फाल्गुन ३ गते भारतको सिलाङमा जन्मिएका उनी एक प्राध्यापक, अनुसन्धाता र कुशल प्रशासकको रूपमा चिनिन्छन्। उनका बुबा टामलाल पन्थी र आमा गोमा पन्थी सामान्य परिवारका थिए। जीविकोपार्जनका लागि उनीहरू भारत पुगेका बेला नारायण पन्थीको जन्म त्यहीँ भएको थियो। उनी १० जना दाजुभाइ-बहिनीमध्ये माहिला सन्तान हुन्।

बाल्यावस्थका सुनौला ६ वर्ष उनले गुल्मीको दुर्गम गाउँ सेउघामा बिताए। शिक्षा र अवसरको खोजीमा २०३६ सालपछि उनका परिवार दाङको दुधरासमा बसाइँसराइ गरे। दुधरासकै जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्दै उनले माध्यमिक तह पूरा गरे। बाल्यकालदेखि नै पढाइमा अब्बल रहेका पन्थीले २०४६ सालको एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भए। पारिवारिक आर्थिक अवस्थाले उनलाई उच्च शिक्षा अध्ययनका लागि सहजता नबनाए पनि घरपरिवारले दुःखसुख सहेर उनलाई राजधानी पठायो।

राजधानीमा त्रिचन्द्र कलेजमा आइएस्सी अध्ययन थालेपछि पनि उनले शिक्षण पेशासँग सम्बन्ध राखे। पढाइमा अब्बल भएकाले उनले आइएस्सी दोस्रो वर्षको परीक्षा दिएपछि रोल्पा जिल्लाको थवाङमा एक वर्ष माध्यमिक तहमा अध्यापन गराए। २०४९ सालमा आइएस्सी पूरा गरेपछि उनी पुनः दाङ फर्किए र प्रहरी स्कुलमा दुई वर्षसम्म अध्यापन गरे। यसपछि उच्च शिक्षाका लागि फेरि राजधानी गए। उनले पाटन संयुक्त क्याम्पसबाट स्नातक तह पूरा गरेपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पनि पूरा गरे।

शिक्षण क्षेत्रलाई आफ्नो स्थायी कर्मक्षेत्र बनाउने दृढ संकल्पका साथ उनले करियर अगाडि बढाए। चार वर्ष माबी कालाखोलामा निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षकका रूपमा कार्यरत रहे। २०६२ सालदेखि उनले महेन्द्र बहुमुखी क्याम्पस, दाङमा आंशिक रूपमा प्राध्यापन सुरु गरे। तीन वर्षपछि, २०६५ सालमा, उनी करार सेवामा नियुक्त भए। अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै उनले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि (पीएचडी) प्राप्त गरे। उनको शैक्षिक र अनुसन्धानमूलक यात्रा त्रिभुवन विश्वविद्यालयसँग मात्र सीमित रहेन। केही समय उनले पाटन संयुक्त क्याम्पसमा समेत प्राध्यापन गरे। तर, आफ्नो कर्मभूमि दाङमै फर्केर काम गर्ने उनको चाहना थियो। यही सोचअनुसार, २०८० सालमा उनी पुनः महेन्द्र बहुमुखी क्याम्पस, दाङ फर्किए।

क्याम्पस प्रमुखका रूपमा नियुक्त भएपछि उनी क्याम्पसको शैक्षिक उन्नयन, प्रशासनिक सुधार र विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन क्रियाशील छन्। हाल उनी श्रीमती र दुई छोरासहित घोराही–१४, दाङमा बसोबास गर्दै आएका छन्। उनको जीवन संघर्ष, लगनशीलता र नेतृत्व क्षमताको उत्कृष्ट उदाहरण हो। साधारण परिवारबाट उठेका उनी कठोर परिश्रम, निरन्तर अध्ययन र समर्पणका कारण आज शिक्षाक्षेत्रको उच्च पदमा पुगेका छन्। उनका अनुभव, ज्ञान र दूरदृष्टिले महेन्द्र बहुमुखी क्याम्पसलाई शैक्षिक उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। शैक्षिक क्षेत्रको अग्रणी संस्थाको नेतृत्व गर्ने अवसर पाएका पन्थीलाई हाम्रो पनि शुभकामना ।