काठमाडौं । बाढी आएको एघारौं दिनपछि रसुवाको माथिल्लो त्रिशूली–१ हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिक लुहाइतोलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गर्यो । उनलाई सुरुङको करिव २५० मिटरभित्रबाट जिवितै उद्धार गरिएको हो ।
त्यस्तै एघारौं दिनमै नुवाकोटको विदुर नगरपालिका–१०, वेत्रावतीमा बाढीले क्षतिग्रस्त घरभित्र फसेकी ६४ वर्षीय चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ । दशौ दिनमा त्रिशूली ३ ए को सुरुङबाट दुई जनाको जिवितै उद्धार गरएको थियो ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका २० जनासहितको संयुक्त टोली अझै खोजीमा, कम्प्रेसरलगायत उपकरणको प्रयोग गर्दै सुरुङभित्र करिब २५० मिटरसम्म पुग्यो ।
लामो समयसम्म सुरुङबाट मानिसलाई जिवितै उद्धार गरिएकाले अझै आशा पलाएको उद्धार टोलीले बताएका छन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङभित्रको खोज तथा उद्धारका क्रममा पानी, लेदो, माटो र चट्टान हटाई सुरुङभित्रको पहुँच खोल्न निरन्तर प्रयास भइरहेको बताएका छन् ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका २० जनासहितको संयुक्त टोली अझै खोजीमा रहेको छ । त्रिशूली–३ ‘ए’ को सुरुङमा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको टोली परिचालित छ । यसअघि यही सुरुङबाट सप्तरीका सञ्जय साह र कीर्तिपुरका कविन महर्जनको जीवितै उद्धार गरिएको थियो ।
त्यसैगरी त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालित गरिएको सेनाले जनाएको छ । सो स्थानमा बबक्याट र जेनेरेटरको प्रयोग गरी सुरुङभित्र जमेको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ । चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी प्राविधिकसहितको टोलीले मिनी एक्साभेटर र मड पम्प प्रयोग गरिरहेको छ । लेदो हटाउँदै टोली सुरुङभित्र पुनः १०५ मिटरसम्म प्रवेश गरेको छ ।











