दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको २१ औं साधारणसभा एवं १८ औं अधिवेशन शनिवार मात्रै सम्पन्न भएको छ । कार्यक्रमले संघले गरेका कार्यसम्पादनको समीक्षा गर्नुका साथै आगामी योजनासमेत पारित गरेको छ । साधारणसभा एवं अधिवेशनको कार्यक्रमसँगै नयाँ नेतृत्वका लागि ढोका खुल्ला गरेको छ । संघले अगामी असोज १० गतेका लागि निर्वाचन तोकिसकेको छ ।
साधारणसभा एवं अधिवेशनको उद्घाटन सम्पन्न भएकै दिन संघको नयाँ नेतृत्वका लागि अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले निर्वाचनका लागि पदाधिकारीहरुको सार्वजनिक गरेको छ । व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ।
स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य उपाध्यक्षमा ऋषिराज शर्मा, महासचिवमा सालीक खनाल, सचिवमा ललित बेलबासे, कोषाध्यक्षमा अर्जुन पन्थी तथा सह–कोषाध्यक्षमा गणेश पाण्डे रहेका छन्। कार्यसमिति सदस्यका रूपमा पनि विभिन्न क्षेत्र र व्यवसायको प्रतिनिधित्व गर्ने व्यवसायीहरू रहने बताइएको छ ।
प्यानलका नेतृत्वकर्ता अनिल आचार्यले दाङको व्यावसायिक क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन आफूहरू विशेष योजना तथा स्पष्ट एजेन्डासहित निर्वाचनमा सहभागी हुन लागेको बताएका छन् ।
“दाङको उद्योग तथा व्यापार क्षेत्रलाई नयाँ ऊर्जा र व्यवस्थित नेतृत्वको आवश्यकता छ,” आचार्यले भने, “हामी कुनै व्यक्ति वा समूहको स्वार्थका लागि होइन, समग्र व्यवसायी समुदायको हक, हित र भविष्यका लागि स्वतन्त्र व्यावसायिक टिमका रूपमा निर्वाचनमा आएका हौँ।”
उनले दाङमा रहेका साना, मझौला तथा ठूला व्यवसायीबीच सहकार्य र एकताको वातावरण निर्माण गर्दै उद्योग वाणिज्य सङ्घलाई सबै व्यवसायीको साझा र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।











