इन्द्रेणी संवाददाता
दाङ । नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवा दाङ आउँदैछन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा हुने थारु भेलालाई सम्बोधन गर्न देउवा भोलि माघ २६ गते दाङ आउन लागेका हुन ।
चखौरामा थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते सांस्कृतिक तथा रैथाने खाना महोत्सवको समेत आयोजना गरिएको छ । थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गरिएको मटावाँ, बरघर, भलमन्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायको उपस्थिति रहनेछ ।
