इन्द्रेणी संवाददाता
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर थिए । उनकै नेतृत्वमा ठूला–ठूला युद्धहरु भएका थिए ।
‘जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो । त्यहाँ मर्ने र मार्ने हुन्छ । अहिले हाम्रो अध्यक्ष (केपी ओली) को भनाइमा मेरो कुनै आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’– उनले भने ।
पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्ध हिंसा नै हुने बताएका हुन् । प्रत्येक हिंसालाई युद्ध मान्न नसकिने उनको तर्क छ । नेता बादलले माओवादीले जनयुद्ध दिवस मनाउनको कुनै औचित्य नरहेको पनि बताए । जनयुद्ध दिवस दुनियाँमा कहीँकतै पनि नमनाइने बताउँदै उनले जनयुद्ध दिवस मनाउने माओवादीको डिसिजन गलत रहेको बताए ।
‘माओवादीले जनयुद्ध दिवस मनाउने भनेर निर्णय गर्यो, उनीहरुको सरकार हुँदा । हुन त पछि अदालतले त्यसलाई खारेज गर्दिएछ । जनयुद्ध दिवस मनाउने होईन, कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीहरुको एक ढंगको स्टन्टबाजी हो । गणतन्त्र दिवस मनाउने हो,’– उनले भने ।
नेकपा (माओवादी केन्द्र) फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदासमेत दिएको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि सो विदा खारेज भइुसकेको छ । यद्यपि माओवादी केन्द्रले भने २०५१ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।
