भीमा डिसी
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगतको
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए । कवि भूपी शेरचनको रचना बाट साभार
हरेक राष्ट्रको इतिहास वीरताको कथाले भरिएको हुन्छ, जहाँ केही व्यक्तिहरूले आफ्नो जीवन राष्ट्रको हितमा समर्पित गर्छन्। नेपालमा पनि स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार, र न्यायको स्थापनाका लागि धेरै वीर शहीदहरूले बलिदान दिए। आज हामी उनीहरूको सम्झनामा सहिद दिवस मनाइन्छ , तर, आजको वर्तमान पुस्ताको भूमिका के हो? के हामीले शहीदहरूको सपना र आदर्शलाई अघि बढाउन सकेका छौं ? यो प्रश्नले हामीलाई शहीद दिवस आउँदा सधैँ गिज्याइरहेको हुन्छ।
नेपालको राजनीतिक परिवर्तनका प्रत्येक मोडमा सहिदहरूको योगदान उल्लेखनीय छ। राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०६२/६३ को जनआन्दोलन— यी सबै परिवर्तनहरूमा सहिदहरूले नेतृत्वदायी भूमिका निर्वाह गरे। उनीहरूले आफ्नो ज्यानको आहुति दिए, ताकि भावी पुस्ताले स्वतन्त्रता, समानता, र न्याययुक्त समाजमा बाँच्न सकोस्।
नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसै गरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो ।
शहीद हरूले देखेको सपना एउटा समतामूलक, न्यायपूर्ण र विकसित नेपालको थियो। तर, आजको यथार्थमा हामीले के देख्छौं? भ्रष्टाचार, असमानता, राजनीतिक अस्थिरता र सामाजिक विभेदले गर्दा सहिदहरूको सपना अधुरै छ। वर्तमान पुस्ताको कर्तव्य छ कि यी चुनौतीहरूलाई पहिचान गरेर समाधानको दिशामा अगाडि बढ्ने। सहिदहरूले आफ्नो बलिदान दिएर हामीलाई स्वतन्त्रता दिए। तर, यो स्वतन्त्रता र अधिकारको सही उपयोग गर्न हामीले शिक्षित र जागरूक हुनुपर्छ। वर्तमान पुस्ताको भूमिका छ कि शिक्षा र ज्ञानलाई प्राथमिकता दिएर समाजलाई अगाडि बढाउने। शिक्षा नै त्यो हतियार हो जसले देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सक्छ।
शहीदहरूले आफ्नो जीवन दिएर देशको लागि मार्ग प्रशस्त गरे। अब हाम्रो कर्तव्य छ कि हामीले आफ्नो भूमिका निभाएर राष्ट्र निर्माणमा सहभागी हौं। यसको लागि हामीले ईमान्दारिता, मेहनत र समर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। चाहे त्यो राजनीति हो, शिक्षा हो, वा समाजसेवा, हरेक क्षेत्रमा राष्ट्र निर्माणको दृष्टिकोण राख्नुपर्छ। सहिदहरूले आफ्नो बलिदान दिएर हामीलाई एउटा एकताबद्ध र शान्तिपूर्ण समाजको सपना देखाए। तर, आजको समाजमा विभिन्न विभेद र संघर्षहरू छन्। वर्तमान पुस्ताको भूमिका छ कि यी विभेदहरूलाई मिटाएर समाजमा एकता र शान्ति कायम गर्ने। हामीले जात, धर्म, लिंग र वर्गको आधारमा भिन्नता नगरी एउटा साझा राष्ट्रिय पहिचान बनाउनुपर्छ।
शहीद हरू इतिहासका पानामा मात्र सीमित हुनुपर्ने पात्र होइनन्। उनीहरूको लाई केवल सम्झना र श्रद्धाञ्जली अर्पण गरेर होइन, समाज रूपान्तरणका लागि सकृय भूमिका निर्वाह गरेर मात्रै हामी साँचो अर्थमा सहिदहरूको सम्मान गर्न सक्छौं।
जय नेपाल! जय सहिदहरू
