काठमाडौँ । अमेरिकाले १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईईसी) ले सार्वजनिक गरेको सूची अनुसार तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।

आईईसीको सूचीअनुसार अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरसका नागरिक छन् । होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासनमा पर्नेछन् । त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना निष्कासित हुनेछन् । त्यस्तै चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आईईसीका अनुसार उक्त सूचीमा सन् २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेकाहरू समावेश छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई घर फर्काउन थालेको हो । ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । एजेन्सी