घोराही । सडक मानवहरुको लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराही आयोजना गरिएको महायज्ञको तयारी पूरा भएको छ । सडक मानव तथा सार्मजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवस्थामा रहेका खाना, नाना र छानाबिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ आज विहीवारदेखि शुरु हुने ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सम्पूर्ण तयारी पूरा भएको हो ।

घोराही उपमहानगरपालिका १० मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका बेवारिसे मानवहरुको सहयोगार्थ आयोजना गरिएको महायज्ञको सम्पूर्ण तयारी पूरा भएको महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले जानकारी दिएका छन् । महायज्ञको लागि सम्पूर्ण भौतिक संरचना तयार गरिएको छ ।

महायज्ञको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले गर्ने छन् । महायज्ञ उद्घाटन पूर्व शोभा कलशयात्रा हुनेछ । महायज्ञ स्थलबाट सुरु हुने कलश यात्राले घोराही बजार परिक्रमा गर्ने छ । महायज्ञ स्थल कर्मचारी मिलन केन्द्रबाट शुरु हुने कलशशोभा यात्रा सहिद गेट, भानु चोक, दामोदर चोक निमा हल रोड, ट्रापिकm चोक, विपी चोक, सहिद गेट हुदै पुनः महायज्ञ स्थलमा पुग्नेछ ।

महायज्ञमा हरेक दिन योगाभ्यास, पूजा तथा पाठपारायण, कथावाचन, आरति, प्रसाद वितरण, सन्ध्याकालिन भजन कृतन, झाँकी प्रस्तुति लगायतका कार्य हुनेछ ।

मानव कल्याण समाज (सेवा घर) नारायणपुरमा हाल ४ महिना बच्चादेखि ९० वर्षको ५२ जना व्यक्तिहरु छन् । सेवा घरमा रहेका धेरै व्यक्तीहरु मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त रहेका छन् ।

महायज्ञको कथा वाचकमा देवी श्री सुमी मानव रहेकी छन् । मानव कल्याण समाजका संस्थापक अध्यक्ष समेत रहेककी मानवले निःशुल्क कथा वाचन गर्ने छन् ।

शोभाजात्रामा सहभागी हुन अनुरोध
महायज्ञ आयोजक मूल समितिले महायज्ञको उद्घाटन शोभा कलश यात्रामा सहभागिताका लागि सम्पूर्णमा अनुरोध गरेको छ । महायज्ञ उद्घाटन एवं उद्घाटन पूर्व विहान ११ बजेदेखि महायज्ञ स्थलबाट शुरु हुने शोभा कलश यात्रा एवं उद्घाटन कार्यक्रममा सहभागिताको लागि महायज्ञ आयोजक मूल समितिले सम्पूर्ण दाङबासीहरुमा आह्वान गरेको हो ।