mithenकाठमाडौं, १६ साउन । खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने काम गर्दैछ । विभाग अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो ।

विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आइतबार जानकारी गराउनुभयो । यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ । तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् । इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको इनार भने ग्यास भण्डारण गर्नका लागि गतवर्ष पुनः खनिएको थियो ।

भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराउनुभयो ।

सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याईएको थियो । एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो । यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्नका लागि मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ ।