इन्द्रेणी संवाददाता
दाङ । घोराहीको आधारभूत विद्यालय गिठेपानीमा श्रीमद्भावगत ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । शिक्षामा सबैको पहुँच बृद्धिका साथै शिक्षा तथा विद्यालयको समग्र गुणस्तर अभिबृद्धिका लागि महायज्ञ सञ्चालन हुन लागेको विद्यालयको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

मूल आयोजक समितिले आज विद्यालय प्राङ्गनमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञ बारेमा जानकारी दिएको छ । महायज्ञ यही कार्तिक २३ गतेदेखि ३० गतेसम्म विद्यालयको प्राङ्गनमा सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए । महायज्ञ शुरुवातको दिन २३ गते विहान शोभायात्रा सहित दिउँसो १ बजे उद्घाटन हुने बताइएको छ ।

त्यसपछि महायज्ञ सञ्चालन दिनहरुमा यज्ञमण्डव पूजनदेखि हवन भजन कृतनलगायत महायज्ञमा हुने सबै खालका कार्यक्रम हुने आयोजकले बताएकोे छ । सो अवसरमा विद्यालयका प्रधानध्यापक गिरीप्रसाद भटट्राइले विद्यालय नेपाली र अग्रेजी माध्यमबान पठनपाठन हुने गरेको र पछिल्ला वर्षहरुमा विद्यार्थीको संख्या बढ्दै गएको बताए । साथै सञ्चालन हुन लागेको महायज्ञले विद्यालयको सवाङ्गिन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले महायज्ञको सफलताको शुभकामना दिएका थिए ।
महायज्ञमा कथाबाचन श्री अमृतशरण देवाचार्यले गर्ने कार्यक्रम छ ।