इन्द्रेणी संवाददाता
दाङ । गुरुकुल एकेडेमी दाङका विद्यार्थीहरुले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई आफ्नो क्षेत्रको विकासका लागि तदारुकता देखाउन सुझाव दिएका छन् । दाङको वंगलाचुली गाउँपालिका वडा नं. २ स्थित मर्पेसमा प्रयोगात्मक शिक्षाका लागि साता दिनको बन्द शिवरमा गएका विद्यार्थीहरुले त्यहाँ आसपासका बस्तीमा बसोवास गर्दै आएका स्थानीयको समस्याहरुलाई अध्ययन, अवलोकन गर्दै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई विकासका गतिविधिमा ध्यान दिन सुझाएका हुन् ।

जिल्लाका सदरमुकाम घोराहीबाट छोटो दुरीमा रहेका ती क्षेत्रहरुमा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभूत समस्याहरु रहेको भन्दै विद्यार्थीहरुले यस्ता समस्याको समयमै निराकरणमा ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गरे । मर्पेसमा बन्द शिवरका क्रममा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित घोरदौरामा स्थलगत अध्ययन अवलोकनका लागि पुगेकी गुरुकुल एकेडेमी घोराहहीकी इश्यू बुढाथोकीले घोरदौरा उपमहानगरपालिकाको एउटा सुन्दर बस्ती भएपनि त्यहाँका स्थानीयले अझै पनि राज्यबाट पाउनुपर्ने सामान्य आधारभूत सेवा समेत नपाएको अध्ययनको क्रममा फेला परेको बताइन् । उनले त्यहाँका स्थानीयहरुले गुणस्तरीय शिक्षा, खानेपानी, स्वास्थ्य, भरपर्दाे यातायातको सुविधा लगायतका समस्या भोग्नुपरेको भन्दै यसमा स्थानीय तहको छिटोभन्दा छिटो ध्यान जानुपर्ने सुझाव दिइन् ।

बन्द शिवरको सातौ दिन आज मंगलवार मर्पेस डाँडामा जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागितामा भएको कार्यक्रममा बोल्दै विद्यार्थीहरुले बंगलाचुली गाउँपालिका वडा नं. २ मर्पैस आसपासका गाउँहरुमा पुगेर त्यहाँको जनजीवन, रहनसहन, भोग्नुपरेका समस्यालगायतको अध्ययन अवलोकन गरेको र अध्ययनको क्रममा त्यहाँका स्थानीयले राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा सुविधाबाट वञ्चित हुनुपरेको पाइएको बताएका थिए । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक, शिक्षिकालगायतको सहभागिता रहेको बन्द शिविरको क्रममा विद्यार्थीहरुले विभिन्न समूह बनाएर त्यस क्षेत्रका बस्तीहरुको शिक्षा, स्वस्थ्य, खानेपानी, रहनसहनलगायतका विषयहरुमा अध्ययन अवलोकन गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति वंगलाचुली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मैते पुनले पहिलेको भन्दा पछिल्लो चरणमा यस क्षेत्रमा विकास गतिविधिले धेरै फड्को मारेको बताए । ग्रामीण क्षेत्र भएकाले बजारको जस्तो छिटोछरितो रुपमा विकास हुन नसकेपनि पहिलेको तुलनाम विकास भएको उनले बताए । यहाँको विकास गर्नका लागि आफूहरु सकेसम्म प्रयास गरिरहेको र क्रमशः विकास हुने अध्यक्ष पुनको भनाइ थियो ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रिन्सिपल मुकुन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा श्रृृष्टि बाल क्लबका संरक्षक बेचन ओली, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल सुरज खनाल लगायतले आफ्ना धारणा राखेका थिए । गुरुकुल एकेडेमीले विद्यार्थीको गुणस्तरिय शिक्षासँगै व्यवहारिक शिक्षामा टेवा पुर्याउने उद्देश्यले त्यहाँ विद्यार्थीहरुलाई साता दिनको बन्द शिवरमा लिएको हो ।