काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरिने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले राजनीतिक स्थिरताका लागि सकेसम्म सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् ।
‘‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौं । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ’’, उनले भने ।
संविधानलाई समयानुकूल बनाउनु पर्ने भन्दै प्रधामन्त्री ओलीले जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट पारे ।
