इन्द्रेणी संवाददाता
दाङ । दाङका बरिष्ठ साहित्यकार स्वर्गीय गिरिराज शर्माको आज अन्त्येष्टि गरिएको छ । घोराही उपमहानगरपालिका १८ मसिनास्थित कटुवाखोला सतीघाटमा उनको पार्थिक शरीरको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि उनको पार्थिक शरीरमा नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नेपालको बामपंथी आन्दोलन तथा प्रगतिशील साहित्य क्षेत्रका अगुवा शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा आफन्त र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उनको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरुले दागवत्ती दिएकी थिइन् ।
दाङका विभिन्न विद्यालयहरु र अर्घाखाँचीको चुत्रावेशीसम्म शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान गरेका थिए । विसं १९९७ साल जेठ १५ गते जन्मेका शर्माको ८४ वर्षको उमेरमा हिजो दिउँसो उपचारका क्रममा बुटवलमा निधन भएको थियो । उनका चार छोरी र एक छोरा छन् ।
शर्माले राप्ती साहित्य परिषद्को स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुका साथै अध्यक्षको रुपमा संस्थाको नेतृत्व गरेका थिए । शर्मा प्रगतिशील लेखक संघ दाङ शाखाको संस्थापक साथै अध्यक्ष हुन् ।शर्माले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शर्माको निधनले यस क्षेत्रको साहित्यिक, शैक्षिक र समाज रुपान्तरणको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् ।
