काठमाडौँ । आज लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनेको नौ वर्ष पूरा भएको दिन अर्थात संविधान दिवस । यो दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुदैछन् ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको छ ।
यो दिवस सबै नेपालीको राष्ट्रिय दिवस भएपनि नेपालको राजनीतिक अस्थिरताका कारण जनतामा त्यति उत्साह छैन । जनतामा उत्साह नहुँदा यस्तो कार्यक्रममा विषेश गरी सरकारी कर्मचारीहरु मात्रै सहभागी भएको देखिन्छ । दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
