काठमाडौँ । नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमूद अल बुसाइदीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज मङ्गलबार राष्ट्रपति भवनमा भएको सो भेटमा नेपाल ओमानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र एसियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्जहरुमा सहकार्य गर्दै आइरहेको र भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गरेका थिए ।
नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबिच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको समेत बताएका थिए ।
भेटमा विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएका थिए ।
