काठमाडौं। माथिबाट आएको बाढीले थामे गाउँमा घर बगाएपछि जल तथा मौसम विज्ञान विभागले सोलुखुम्वुको जोरसल्ले देखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरुलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

साथै ओखलढुङ्गाका सम्भावित जोखिम युक्त क्षेत्रका नागरिकलाई यथासक्य सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ । प्रशासनले एक सूचना सार्वजनिक गरेर सतर्क रहन आग्रह गरेको छ ।

जिल्लाको दुधकोशी तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, रबुवाघाट, भदौरे, तलुवा, मोली, वाक्सा, उवु, जयरामघाट र सोक्माटार क्षेत्रमा जोखिम हुन सक्ने भएकाले प्रशासनले आपत्कालिन विज्ञप्ती जारी गर्दै सचेत गराएको छ ।

शुक्रबार दिउँसो सोलुखुम्बुको दुधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्‍याएको छ । बाढी हिमताल फुटेर आएको हुनसक्ने आशंका गरिएको छ ।