एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा चालक दलका चार सदस्यसहित ६१ जनाको मृत्यु भएको छ।

दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु भएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति भएको छैन ।

एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गरेका छन् ।