चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै । तस्बिर सौजन्य ः नेपाली सेना÷रासस

चितवन । गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालकाअनुसार विभिन्न ठाउँमा भेटिएका १७ मध्ये नौ वटा शवको पहिचान खुलेको छ । बाँकी आठ वटाको पहिचान खुल्न बाँकी छ ।

भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप बिक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ । अन्य छ वटा पुरुष र दुई महिलाको शव रहेको छ ।

सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता शैलेन्द्र थापाकाअनुसार बाँकी यात्रु र बसको खोजी निरन्तर छ । शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको छ । जोजिलाई तीब्रता दिइएपनि अहिलेसम्म बस र बसमा सवार अन्य यात्रुको अवस्था अज्ञात छ । ती दुई बसमा ६५ यात्रु सवार भएको बताइएको छ । ती मध्ये ३ जना हामफालेर बाँच्न सफल भएका छन् ।

गएको चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा काठमाडौंबाट गौर जाँदै गरेको र विरगञ्जबाट काठमाडौं जाँदै गरेको बस पहिरोले नदीमा बगाएको थियो ।