काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रीको जिम्मेवारीमा सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीको स्वागत कार्यक्रममा सो निर्देशन दिएका हुन् ।
“सबै क्षेत्रमा अब नयाँ सोच, काम गर्ने शैली र तरिका चाहिन्छ । परम्परागत ढर्राले काम गरेर नयाँ परिवर्तन सम्भव छैन । हामीले मिलेर काम गरेर युवापिँढीलाई नयाँ सन्देश दिनुपर्छ ”, उनले भने ।
काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने स्वभावको मान्छे आफू भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भने, “लुकाएर छिपाएर काम गर्ने शैली मलाई आउँदैन, खुला दिलले, सफा हृदयका साथ काम गर्ने हो, राम्रो योजना र सोच लिएर आउनुस्, म बाट कुनै काममा बाधा हुँदैन, प्रोत्साहन मात्र हुन्छ ।”
