चितवन । पहिरोमा परी बस त्रिशुली नदीमा खसेर दुई यात्रुवाहक बस वेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको पहिरोले आज बिहान ३ बजेको समयमा चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा ठूलो पहिरो आउँदा बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।
दुबै वसमा गरी करिव ६५ यात्रु भएको अनुमान गरिएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।
यसैबीच बिहान ३ बजे चितवन जिल्ला भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खस्दा बस चालकको ज्यान गएको छ । नवलपरासी सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिकको मृत्यु भएको हो ।
