दाङ। आर्थिक वर्ष २०८०/०८१ मा दाङमा रहेका लुम्बिनी प्रदेश अन्तर्गतका कार्यालयमा एक अर्ब ११ करोड बढी रकम फ्रिज भएको छ । तीन अर्ब ६४ करोड आठ लाख ६१ हजार आठ सय ७२ रुपैयाँमध्ये एक अर्ब ११ करोड ८८ लाख ३४ हजार सात सय ४७ रुपैयाँ ९५ पैसा फ्रिज भएको हो ।

दाङमा रहेका प्रदेश अन्तर्गतका कार्यालयमा ९० करोड ५१ लाख ७५ हजार दुई सय २८ रुपैयाँ २२ पैसा विकास बजेट मात्रै फ्रिज भएको छ । प्रदेश सरकारबाट आएको पूँजीगत बजेटमध्ये ३१.४८ प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ आजको युगबोध दैनिकमा खबर छ।

दाङमा आर्थिक वर्ष ०८०/०८१ मा प्रदेश सरकारबाट पूँजीगत बजेट दुई अर्ब ७५ करोड ९५ लाख तीन हजार रुपैयाँ प्राप्त भएको थियो । जसमध्ये एक अर्ब ९७ करोड सात लाख ७७ हजार सात सय ७१ रुपैयाँ ७८ पैसा खर्च भएको छ । जुन ६८.५२ प्रतिशत हो । त्यस्तै चालुतर्फ जिल्लामा ७८ करोड ४९ लाख आठ हजार आठ सय ७२ रुपैयाँ आएकोमा ५७ करोड १२ लाख ४९ हजार तीन सय ५३ रुपैयाँ २७ पैसा खर्च भएको छ । जुन ७२.७७ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनकुमार जैसवालले दिएको जानकारी अनुसार चालुतर्फ प्रदेश कार्यालयको २१ करोड ३६ लाख ५९ हजार पाँच सय १८ रुपैयाँ ७३ पैसा बजेट फिर्ता भएको छ । जुन चालु बजेटको २७.२३ प्रतिशत हो ।