इन्द्रेणी संवाददाता
काठमाडौं । संविधानको धारा ७६ (३) अनुसार सरकार गठन हुन सक्ने डरले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामामै जोड दिएको छ । दाहालले यही असार २८ गते संसदबाट विश्वासको मत लिने भएपनि एमालेले भने उनको राजीनामामै जोड दिएको छ ।

दाहाल नेतृत्वको सरकारबाट वाहिरिएर काग्रेससँग आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति गरेको एमालेले आइतवार बसेको संसदीय दलको बैठकमा समेत प्रधानमन्त्रीले राजीना दिनुपर्नेमा केन्द्रीत भयो । बैठकमा एमाले नेताहरुले अल्पमतमा परेका प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए ।

एमाले–काग्रेस सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पहिलो सरकार गठन गर्ने उल्लेख छ । तर अहिले संविधानको धारा ७६ (२) बाट बनेको सरकारले विश्वासको लिन नसके धारा ७६ (३) को प्रक्रियाबाट सरकार निर्माण हुने पनि सम्भावना छ । संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

यसैबाट सशंकित नेकपा एमालेले प्रधानमन्त्रीको राजीनालाई पहिलो प्राथमिकतामा राखेको हो । यदि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सरकार गठन गर्नु भनेर भनेभने सरकारको नेतृत्व काग्रेसको हातमा जाने देखिन्छ । तर एमाले–काग्रेस सहमतिमा भने पहिले एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।