इन्द्रेणी संवाददाता
काठमाडौं । संविधानको धारा ७६(२) बाट बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन नसके धारा ७६ (३) बाट सरकार बन्छ कि भनेर त्रासमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको इमानमा शंका नरहेको बताएका छन् । आइतवार एमाले संसदीय दलको बैठकमा कांग्रेसले दुई दलबीच भएको सहमतिलाई संस्थागत रूपमा स्वागत गर्दै अनुमोदन गरेकामा आभार व्यक्त गर्दै अध्यक्ष ओलीले देउवाको इमानप्रति आफूलाई कुनै शंका नभएको बताएका हुन् ।

तर, त्यही बैठकमा असार २८ गते संसदबाट विश्वासको मत लिन्छु भनेर तम्सिएका प्रधानमन्त्रीको राजीनामा दिनुपर्नेमा जोडबल गरियो । यसले के देखाउछ भने यदि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिन नसके र राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको आह्वान गरेमा काग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्छ कि भन्ने एमालेमा त्रास छ ।

एमालेले पटक–पटक प्रधानमन्त्रीले राजीनामा लिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्नेमै जोड दिएको छ । एमाले–काग्रेस सहमतिमा पहिलो सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छ । सहमति यस्तो भएपनि संविधानको धारा ७६ (२) बाट बनेको सरकारले विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले धारा ७६ (३) बाट सरकार गठनको आह्वान गर्न सक्ने कतिपय संविधानविद्हरुको विश्लेषण छ । यदि राष्ट्रपतिले यो आह्वान गरे भने सरकारको नेतृत्व प्रतिनिधिसभाको पहिलो दल नेपाली काग्रेसले गर्ने छ ।